विराटनगर: बिहीवार साँझ विराटनगरमा १८ मा भएको एक दुःखद सडक दुर्घटनामा ५३ वर्षीय श्याम साहको मृत्यु भएको छ। साह विराटनगर-१८ का स्थायी बासिन्दा थिए।
प्रहरीका अनुसार, घटना साँझ करिब ६:३० बजे भएको थियो। साह साइकलमा सवार भई घर फर्किरहेका बेला आईसिपी जाने बाटोमा एक ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका साहलाई तत्काल कोशी अस्पताल पुर्याइएको थियो घाईतेको अवस्था नाजुक भएका कारण साहलाई विराट नर्सिङ होममा रेफर गरिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको छ।
यस बीच, विराट नर्सिङ होमका एक सुरक्षा गार्डले मृतकका आफन्तहरूसँग दुर्व्यवहार गरेको आरोप लागेको छ। मृतक का आफन्तहरूलाई त्यहाँका सुरक्षागार्ड ले दुर्व्यवहार गर्नुका साथै कुटपीट पनि गरेको विराटनगर -१८ का वडा अध्यक्ष जितेन्द्र साह ले बताए।
वडा अध्यक्ष जितेन्द्र साह सहित केही व्यक्तिहरू दुर्व्यवहारको घट्ना को विषयमा अस्पताल मा भएको सिसिटिभी क्यामेरामा देखाउन अस्पताल प्रशासन सँग अनुरोध गरेर दुर्व्यवहारको घट्ना भए बखतको सिसिटिभी हेरिरहेको बेला अस्पताल अगाडि थप केही व्यक्तिहरूले मृतक का आफन्तहरुमाथि कुटपीट प्रयास गरेको थियो ।
दुर्व्यवहार तथा कुटपीट घट्ना पश्चात विराट नर्सिङ्ग होममा केहीबेर तनाव को स्थिति सृजना भएको थियो ।
राति ९ बजेर ४० मिनेटको समयमा घटेको अस्पतालमा दोश्रो घट्ना भए पश्चात मृतक का आफन्तहरुमाथि कुटपीट गर्ने दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।
वडा प्रहरी कार्यालय विराटनगर प्रमुख डिएस्पी बुद्धि श्रेष्ठ ले घटनाको अनुसन्धान सुरु गरेको छ र साथै, नर्सिङ होमका सुरक्षा गार्डको दुर्व्यवहारको बारेमा पनि छानबिन भइरहेको जनाएको छ।
यस दुःखद घटनाले सडक सुरक्षाको महत्त्व र अस्पतालहरूमा बिरामी तथा उनका आफन्तहरूप्रति गरिने व्यवहारमा सुधार ल्याउनु आवश्यक देखिन्छ।