पशु क्वारेन्टाइन कार्यालय रानी मोरङको आयोजनामा महत्वपूर्ण समन्वय बैठक सम्पन्न

1.4K Shares
Spread the love

विराटनगर: पशु क्वारेन्टाइन कार्यालय रानी मोरङको आयोजनामा जिल्ला प्रशासन कार्यालय मोरङमा एक महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ। बैठकको मुख्य उद्देश्य अवैध पशुपंक्षीजन्य सामग्रीबाट हुनसक्ने रोग संक्रमणको रोकथाम, नियमन र नियन्त्रण गर्ने रहेको थियो।

बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख उपस्थितिमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले भाग लिएका थिए। सहभागीहरूमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मोरङका प्रमुख सप्रउ विश्वबन्धु खड्का, भन्सार कार्यालय रानीका प्रमुख ज्ञानेन्द्रराज ढकाल र श्री भैरव गणका सेनानी कुमार श्रेष्ठ लगायत अन्य सम्बन्धित डेढ दर्जन बढी अधिकारी तथा व्यवसायीहरू रहेका थिए।

बैठकमा अवैध पशुपंक्षीजन्य सामग्रीको आयात र ओसारपसारलाई कडाइका साथ नियन्त्रण गर्ने र यसबाट हुनसक्ने स्वास्थ्य जोखिमहरूलाई न्यूनीकरण गर्ने विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले सीमा क्षेत्रमा कडा निगरानी, नियमित जाँच र अन्तर-निकाय समन्वयलाई बढावा दिने विषयमा जोड दिएका थिए।

यस बैठकले स्थानीय र राष्ट्रिय स्तरमा पशु स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, यसले विभिन्न सरकारी निकायहरू बीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचारसबै