कोशी प्रदेश सरकार र सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा कोशी प्रदेशमा “सुरक्षित सीमा सुरक्षित जीवन” कार्यक्रम

1.1K Shares
Spread the love

विराटनगर: कोशी प्रदेश सरकार र सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा “सुरक्षित सीमा सुरक्षित जीवन-२०८१” नामक कार्यक्रम असार ९ गते आईतवार देखि कोशी प्रदेशका चार जिल्लामा शुरु भएको छ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिलावल्लभ अधिकारीले गरेका छन्। उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव केदारनाथ शर्मा, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय, पकली, सुनसरीको आयोजनामा सञ्चालित यस कार्यक्रममा सीमा सुरक्षा, अपराध नियन्त्रण, हातहतियार तथा लागू औषध ओसारपसार नियन्त्रण, मानव बेचबिखन रोकथाम र विपद् व्यवस्थापन सम्बन्धी विभिन्न कक्षाहरू सञ्चालन गरिने छन्।

कार्यक्रम असार १६ गतेसम्म मोरङ्गको विराटनगर र रंगेली, झापाको गौरीगञ्ज र मेचीनगर, इलामको सूर्योदय नगरपालिका र सुनसरीको कोशी गाउँपालिका र देवानगञ्जमा सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा नेपाल प्रहरी, कोशी प्रदेश कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक भिम दाहाल, सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी सुनसरीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल बहादुर थापा, नेपाली सेना पुर्वी पृतना हे.क्वा. ईटहरीका प्रमुख सेनानी सोनिक गुरुङ्ग, राष्ट्रिय अनुसन्धान विभागका मोरङ्ग प्रमुख तिलक प्रसाई, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, पत्रकारहरू र स्थानीय बासिन्दा तथा छात्र छात्राहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक गतिविधिहरू नियन्त्रण गर्न र स्थानीय नागरिकहरूलाई सचेत बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै यसले सीमा क्षेत्रका बासिन्दाहरूको जीवनलाई सुरक्षित बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचारसबै