मिल्स एरियामा फुटबल खेलाडीहरुको सहयोगार्थ रानी मिनी मोहत्सव मेला हुने

1.3K Shares
Spread the love

विराटनगर: मिल्स एरियामा खेलाडी बालबालिकाहरुको सहयोगार्थ रानी मिनी मोहत्सव मेला हुने भएको छ । मंसिर २० गते देखि १ महिना सम्म चल्ने महोत्सवबाट हुने आम्दानी सबै फुटवल प्रशिक्षणमा लगाइने उद्देश्यले मेला सञ्चालन गर्न लागेको हो ।

सीमावर्ति तथा औद्योगिक क्षेत्र यस मिल्स एरियामा बालबालिका तथा युवाहरुलाई अनुशासित बनाउने उद्देश्यले यस क्लवले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर प्रशिक्षण संचालन गर्दै आईरहेको भेट्रान क्लबले रानी मिनी मोहत्सव मेला सञ्चालन गर्ने भएको हो । मेलाबाट हुने आम्दानी खेलाडी बालबालिकाहरुलाई जुत्ता, जर्सी तथा आवश्यक सामाग्रीहरु वितरण गर्नुका साथै राष्ट्रिय अन्तराषट्रिय स्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षाले मेलाको आयोजना गरेको मेला आयोजक मिलन थापाले बताए ।

उद्योगमा काम गर्ने मजदुरका बालबालिका खेल सामग्रि खरिद गर्न सक्दैनन् । रुची भएपनि आर्थिक अभावले खेलकुदबाट बन्चित हुनु पर्ने अवस्था छ । नजिकै जोगवनी बजार भएकाले लागुऔषधको कुलतमा लाग्न सक्ने उत्तिकै सम्भावना भएको र यसखाले समस्यामा पर्न नदिन भेट्रान क्लबले खेलकुदमा आकर्शित गर्दै बालबालिकाहरुको हित लाई मध्यनजर गर्दै मेला आयोजना गरेको थापाले बताए ।

हाल भेट्रान क्लबले ७० जना खेलाडीहरुलाई नियमित फुटवलको प्रशिक्षण दिदै आएको छ । निःशुल्क दिइने यो प्रशिक्षणमा सहभागि हुनेलाई जुत्ता, जर्सी तथा आवश्यक सामग्रीपनि प्रदान गर्दै आएको छ । ८ देखि १२ वर्ष, १३ देखि १५ र १६ वर्ष माथिका गरी तिन उमेर समुहका खेलाडीलाई क्लवले प्रशिक्षण दिदै आएको छ ।

महोत्सवमा लाइभ कन्सर्ट, रोटे पिङ, महिलाहरुका हस्तकलाका सामग्री, सांस्कृतिक कार्याक्रम, खाद्य तथा मनोरञ्जनका स्टलहरु हुनेछन् । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता समेत हुने बताईएको छ । सुरक्षालाई मध्यनजर गर्दै आयोजकले ठाउँ ठाउँमा सिसि क्यामेरा समेत राखेर यस महोत्सवलाई निगरानी गर्ने व्यवस्था गरेको बताए ।

सम्बन्धित समाचारसबै