पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघको आयोजनामा एक्स्पो २०२३ हुने

2.2K Shares
Spread the love

विराटनगर: मोरङ व्यापार संघको आयोजनामा आगामी पुष ६ गतेदेखि मोरङ व्यापार संघ एक्स्पो २०२३ हुने भएको छ । पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघ एक्स्पो २०२३ हुने भएको हो ।

संघले यस वर्ष एक्लै एक्सपोको आयोजना गर्न लागेको हो । मोरङ व्यापार संघले सोमबार पत्रकार सम्मेलन गर्दै एक्पो पुस १६ गतेसम्म विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको खाली मैदानमा आयोजना गर्न लागेको जानकारी गराएको छ ।

संघले यस अघि एक्सपोलाई प्रायोजन गर्ने औद्योगिक उत्पादनको नाम एक्सपो अगाडि राखेर एक्सपो आयोजना गर्ने गरेका थिए । तर यस वर्ष औद्योगिक उत्पादनको प्रायोजनलाई खासै महत्व नदिई संघकै नामबाट एक्सपोको आयोजना गर्ने तयारीमा जुटेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले एक्सपोलाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक, संघका सचिव संजय श्रेष्ठ र कार्यकारिणी सदस्य अमित सारडालाई सह–संयोजकको जिम्मेवारी सुम्पिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष रिजालले एक्सपोमा १५ करोड भन्दा बढिको कारोबार हुने र ४ लाख भन्दा बढि दर्शकले एक्सपोको अवलोकन गर्ने दावी गरे । एक्सपो सम्पन्न गर्न साढे ३ करोड भन्दा बढि रुपैयाँ खर्च हुने अध्यक्ष रिजालले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकाश बेग्वानी, महासचिव अनिल सारडालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारसबै