नेपाल ट्रेड यूनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर पक्ष हावी

702 Shares
Spread the love

विराटनगर : नेपाल ट्रेड यूनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर पक्ष हावी भएको छ ।

बिहीबार भएको निर्वाचनको मत परिणाममा संस्थापन इतर समूहको १७ वटा कार्यसमिति पदाधिकारीमा १४ जनामा जित भएको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा संस्थापन पक्षबाट योगेन्द्रकुमार कुवँरले संस्थापन इतरका महेन्द्रप्रसाद यादवलाई ६४ मतान्तरले पराजित गरेकाछन् । कुवँरले ५५१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित भए । त्यसैगरि, संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ५६९ मतसहित विजयी भए । उनले अयोध्याप्रसाद यादवलाई ३३६ मत पराजित गरे । दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापन इतरबाट दांगका गणेशबहादुर केसी र सुनसरीका ज्योति कोइराला विजयी भए । केसीले ५३८ मत पाएसंगै कोइरालाले ५१८ मत हासिल गरेका थिए। खुल्ला उपाध्यक्षमा दुवैले संस्थापनपक्षका ध्रुवचन्द्र गौतम, शंकर लामिछानेलाई पराजित गरेका थिए । एक महिला उपाध्यक्षमा राधिका कुइकेल खनालले ३९२ मत ल्याएर जित हासिल गर्दा संस्थापनबाट भगवती खड्काले ३५३ मत पाएकी थिइन् । उपाध्यक्ष सेवातर्फ संस्थापन इतरबाट नेक्रवित्रम थापा, ललितबहादुर श्रेष्ठ विजयी भए। उपाध्यक्षको अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट संस्थापन इतरका राजेश पालिखे विजयी भए। महासचिवतर्फ विराटनगरका अजयकुमार राई विजयी भए । संस्थापन इतरबाट निर्वाचित भएका राईले ५६५ मतहासिल गर्दा प्रतिद्धन्दी डीपी अर्याल ३३७ मतमा सीमित भए। उपमहासचिवतर्फ संस्थापन इतरका जनार्दन भट्टराई, र बलदेव तामांग विजयी हुदाँ संस्थापनतर्फका रञ्जन थापा र राममंगल प्रसाद यादव पराजित भए । महिला उपमहासचिवमा सुशीला घिमिरे, उपमहासचिव सेवा क्षेत्रतर्फ देवदत्त बडु, उपमहासचिव उत्पादन क्षेत्रमा संस्थापनतर्फका कुलबहादुर खड्का, उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रुकमणि थापा विजयी भएका छन् ।

कोषाध्यक्षतर्फ संस्थापन इतरका सञ्जय दाहाल विजयी भए । सहकोषाध्यक्षमा संस्थापनकी गीताकुमारी लामिछाने विजयी भइन् । निर्वाचनमा यूनियनको १७ सदस्यीय कार्यसमितिमा संस्थापन इतरबाट १४ र संस्थापन पक्षबाट २ जना विजयी भएका हुन् ।

८ सय ८७ मतदातामा निर्वाचनमा ८ सय ५६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचारसबै