देवानगंजको कृष्णा मा.वि.मा अध्यक्ष चयनमा सकस, हेर्दा हेर्दै बित्यो डेढ वर्ष

826 Shares
Spread the love

सुनसरी / विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि लागिपर्नुपर्ने जनप्रतिनिधिहरु हो तर अनावश्यक हस्तक्षेपका कारण विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा सकस परेको छ । विधिवत रुपमा योग्य व्यक्तिलाई समितिको अध्यक्ष बनाउन नसकेर विद्यालयमा राजनीतिकरण भईरहेको कारण सुनसरीको देवानगंज गाउँपालिका–३ को कृष्णा माध्यमिक विद्यालयमा अध्यक्ष चयनमा सकस परेको हो ।

राम्रो भन्दा पनि आफ्नोलाई जिम्मा दिने प्रयासमा पालिका अध्यक्षको हस्तक्षेपका कारण करिब डेढ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुन सकेको छैन् । जसका कारण विद्यालया विभिन्न गतिविधिमा अवरोध भइरहेको छ ।

अध्यक्षको दावेदारीका रूपमा कुन्दन कुमार मेहता र विन्देश्वरी (विन्दी) मेहेता अगाडी छन् । विन्देश्वरीको भन्दा कुन्दनको शैक्षिक योग्यता पनि बढी भएको विद्यालयका प्रधानाध्यापक उमेश प्रसाद मेहेता बताउँछन् । तर गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र वडाध्यक्ष अनिल भगत विन्देश्वरीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा रहेको विद्यालयका प्रधानाध्यापक मेहेताले बताए ।

डेढ बर्षदेखि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको उनले बताए । करिब २ महिना पहिला सदस्य छनोट भइसकेको अवस्थामा राजननीति हाबी भएकै कारण अध्यक्ष छनोटमा सकस भएको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्षलाई यस विषयमा जानकारी दिँदा वेवास्था गरिरहेको उनले बताए । ‘विन्देश्वरी मेहता उहाँकै मान्छे हो’, उनले भने, ‘अध्यक्षले भन्दिनु भयो भने विन्देश्वरी मेहताले मान्नुहुन्छ । तर अध्यक्ष्यले उहाँलाई नै बनाउनुपर्ने पक्षमा हुनुहुन्छ । यसमा सबै गाउँपालिका अध्यक्षकै हात छ ।’ अध्यक्ष चयन हुन नसक्दा हरेक निर्णय गर्न समस्या भएको बताए । केही निर्णय गर्नुपर्यो भने जेष्ठसदस्यको आधारमा विन्देश्री मेहेताकै अध्यक्षतामा बैठक बसिरहेको उनले बताए । तर अध्यक्ष छनोट नभएका कारण धेरै समस्या हुने गरेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता अध्यक्ष नबन्दैमा केही नहुने बताउँछन् । अध्यक्ष नभएपनि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्न मिल्ने उनले बताए । उनले भने, ‘मैले सहमति गराउने भन्ने हुँदैन । प्रधानाध्यापकले मिलाउने हो सबै कुरा । विन्देश्वरी मेहेता मेरो मान्छे भनेर चलाएको हल्ला मात्रै हो ।’ उनले सहमतिबाट सबै सदस्य चयन भइसकेको अवस्थामा सदस्यहरूले अध्यक्ष चयन गर्नुपर्नेमा गर्न नसकेपछि आफुलाई आरोप लगाएको बताए । ‘सदस्यले जसलाई बहुमत दिन्छ उही अध्यक्ष बन्छ’, उनले भने, ‘यसमा अध्यक्षले किन हस्तक्षेप गर्ने ?’

लामो समयको छलफल पछि पनि कुरा नमिल्दा प्रधानाध्यापकले आफुलाई बोलाएपनि अहिले नबोलाएको बताए । ‘सदस्य चयन नहुँदा हामीले गरिदियौँ, अध्यक्षमा कुरा नमिल्दा आरोप लगाउन मिल्दैन’, उनले भने । उनले विन्देश्वर मेहेता आफ्नो पार्टीको मान्छे नभएको बताए । उनले प्रधानाध्यापकले राजनीति गरेर विद्यार्थीको भविष्यमाथी खेलवाड गरिरहेको बताए । ‘प्रधानाध्यापक कुन्दन मेहेतालाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ’, उनले भने, ‘कुन्दनलनई नै बनाउनुपर्छ भन्ने के छ ? विन्देश्वरीलाई तपाईँ पछि हटिदिनुहोस् भनेर किन भन्ने मैले ? बनाउने जिम्मा उहाँकै हो । कसरी बनाउनुहुन्छ, बनाउनुहोस् ।’

विन्देश्वरी मेहेता जसपाका कार्यकर्ता भएकै कारण गाउँपालिका अध्यक्ष र वडाध्यक्षले अध्यक्ष बनाउने पक्षमा रहेको विद्यालयका विद्यालय व्यवस्थापन समितिमा अध्यक्षका लागि दाबी गरिरहेका कुन्दनले बताए । उनले आफुले विद्यालयको समग्र अवस्था सुधार गर्दै विद्यालयलाई नमुना बनाउनका लागि अध्यक्षमा दाबी गरिरहेको बताए । विव्यसको अध्यक्ष चयनमा जनप्रतिनीधिले हस्तक्षेप गर्नु गलत भएको उनको भनाइ छ ।

अध्यक्षका अर्का दावेदार विन्देश्वरी मेहेताले विद्यालय धेरै पछाडी परेका कारण सुधारका लागि आफुले अध्यक्ष दाबी गरिरहेको बताए । उनले जेष्ठताको आधारमा आफ्नै अध्यक्षतामा बैठक बस्ने गरेको बताए । उनले भने, ‘सहमतिबाट मिलेर अघि बढौँ भन्ने हो । योग्यता भन्दा पनि विद्यालय सुधार गरौँ भन्ने हो । योग्यता नपुगेको भए अभिभावक भेलामा नै सदस्य चयन गर्दा भन्नुपथ्र्यो ।’

‘म गाउँपालिका अध्यक्षको नजिकको मान्छे भनेर हल्ला मात्र चलाइएको हो’, उनले भने, ‘अभिभावकको नाताले मैले विद्यालयको सुधारका लागि मात्रै दाबेदारी गरेको हुँ ।’

सम्बन्धित समाचारसबै