विराटनगर: चेलीबेटी, मानव बेचबिखनविरुद्ध प्रभावकारी रुपमा अभियान चलाउने तथा अहिले को अवस्थाको विषयमा चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने तथा सरोकारवालाहरुसंग विराटनगरमा श्री समाज कल्याण परिषद् काठमाण्डौले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विहीवार विश्व सेवा विस्तार संस्थाको आयोजनामा श्री समाज कल्याण परिषद् लैन चौर काठमाण्डौ का अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा विराटनगर महानगर पालिका वडा नं – १४ मा मानव तथा चेलीबेटी बेचबिखन विरुद्ध अग्रपंक्ति रहेर कार्य गरिरहेको संस्थाहरु तथा सरोकार वाला स्थानिय वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय प्रतिनिधि सशस्त्र प्रहरी तथा नागरिक समाजलाई एकै ठाउँमा राखी अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
कार्यक्रममा विराटनगर-१६ का वडा अध्यक्ष उद्धव भुजेल, कार्यक्रम सदस्य विक्रम बहादुर देउवा, माईती नेपाल बाट गीताञ्जली शर्मा, विश्व सेवा विस्तार संस्था बाट सविना श्रेष्ठ, समीर नाउपाने, डिमोद पोखरेल, कुशुम शर्मा, साना हातहरू नेपाल बाट विवश श्रेष्ठ, आफन्त नेपाल बाट माधुरी लिम्बू, जगरनाथ राय, ईलाका प्रहरी कार्यालय रानी बाट प्रनानि उज्वल खड्गी,सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठ, लागूऔषध नियन्त्रण ब्युरो बाट प्रमोद सिंह, नागरिक समाज बाट अर्जुन केसी, भन्सार प्रतिनिधि सोमनाथ कोईराला, जुली देवी लगाएत व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालबाट कामको सिलसिलामा वा अन्य प्रयोजनले भारत तर्फ जाने वा लगिने महिला तथा बालबालिकाहरुलाई बेच्न वा दुरूपयोग हुनबाट कसरी रोक्ने, खुला सिमानाका कारण हुने समस्याहरु, सीमा पारी संस्थाका कर्मचारीहरु ऊपर आउने धाक धम्की जस्ता क्रियाकलापहरु, उमेर पुगेर रोजगारको लागि भनी भारत तर्फ जानेहरुका लागि सजिलो कानुनी व्यवस्थाबाट हुने अफ्ठ्याराहरु र जनचेतना कार्यक्रमहरु कसरी प्रभावकारी बनाउने, सञ्चालन गर्ने विषयमा घनीभूत छलफल भएको थियो ।