विराटनगर : विराटनगर महानगरपालिका वडा नं. ३ पिपलचौक स्थित जयकिशोर चौधरीको घरबाट चोरी गरेको गरगहना सहित पक्राउ परेका तिनै जनालाई मोरङ्ग प्रहरीले कारागार चलान गरेको छ।
चौधरीको घरबाट अन्दाजी मुल्य रू २० लाख बराबरको २० तोला सुन र अन्दाजी मुल्य रू ४१ लाख बराबरको ३६ के.जी. चाँदी गरी जम्मा रू. ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरीमा संलग्न मोरङ जिल्ला बिराटनगर महानगरपालिका वडा नं. १२ वस्ने वर्ष २१ को राज कुमार कामत, सोही ठाउँ बस्ने वर्ष १९ को विवेक कामत र वर्ष २२ को श्रीकान्त दास गहना सहित पक्राउ परेको थियो ।
चोरीको घटना पश्चात उनीहरू तत्काल फरार रहेकोले पहरीले घटनाको अनुसन्धान र उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङबाट सिनियर प्रहरी अधिकृतको कमाण्डमा विशेष अपरेशन सञ्चालन गरी मिति २०८० जेठ ११ गते मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं.-३ स्थितबाट चोरी भएको चाँदीका गरगहना ३५ केजी र सुन ८ ग्राम सहित पक्राउ गरी डाका चोरी मुद्दामा अनुसन्धान थालेको थियो । अनुसन्धान पश्चात मिति २०८० असार ६ गते सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले तिनै जना प्रतिवादीहरू पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्र.ना.उ. रंजन कुमार दहालले बताउनुभयो ।