मोरङ / कटहरी ४ को वडा कार्यालय नयाँ भवनबाट संचालनगर्ने बिषयमा शुरु भएको विवाद साम्य हुन सकेको छैन । गाउँपालिकाले नयाँ भवनबाट सेवा सुचारु गर्न पटकपटक निर्देशन दिएपनि सम्बन्धित वडाका वडाध्यक्षले अटेर गर्नेगरेका छन ।
कटहरी गाउँपालिकाले वितेको चैत १३ गतेबाट कटहरीको चमराहीमा निर्माण गरिएको नयाँ भवनबाट वडा कार्यालयको सेवा शुरु गरेको थियो । नयाँ भवनबाट कार्यालय संचालनमा ल्याइएपनि सम्बन्धित वडाका वडाध्यक्ष जिवनेश्वर यादव भने उक्त कार्यालयमा खुट्टो टेकेका छैनन । हाल भवन निर्माण गरिएको स्थान पुर्वी क्षेत्रका बासिन्दाकालागि अपायक रहेको र जनमत समेत विपक्षमा रहेकाले साविककै स्थान आसपासबाट वडाको सेवा संचालन गर्नुपर्ने वडाध्यक्ष तथा पुर्वी क्षेत्रका वडावासीको दाबी छ । आफ्नै भवनबाट सेवा शुरु गरिएपनि वडाध्यक्ष यादव कार्यालय उपस्थित नभएर बाहिरैबाट सेवा दिंदै आएका छन । गाँउपालिकाले त्यस बिषयमा वडाध्यक्ष यादवलाई २४ घण्टे स्पष्टिकरण समेत सोधिसकेको छ ।
विवाद साम्य नभएपछि गाउँपालिकाको सभाहलमा सोमबार सर्वदलिय बैठक बोलाएर समस्याको निकास खोज्ने प्रयास गरिएको थियो । तर छलफल चल्दै गर्दा वडाध्यक्ष यादव सहित पुर्वीक्षेत्रका केहि बासिन्दाले बैठक बहिष्कार गरेर सभाकक्षबाट बाहिरिएका थिए । यद्यपि बैठक सुचारु राखिएको थियो र बैठकले आफ्नै भवनबाट सेवा सुचारु गर्ने निर्णय गरेको छ ।
उता वडाध्यक्ष यादव भने साबिकको स्थानभन्दा अन्यत्र वडाकार्यालय सार्न नहुने जनमत रहेकाले आफु जनमतको विपक्षमा जान नसक्ने प्रतिक्रिया दिएका छन ।
यसअघि चैत १३ गते भाडाको भवनबाट कार्यालयको सामान ओसार्न पुगेको गाउँपालिकाको गाडीलाई समेत पुर्वी क्षेत्रका वडाबासीले अवरोध गरेका थिए । प्रहरी प्रशासन लगाएर समेत कागजपत्र तथा फर्निचर ओसार्ने प्रयास गरिएपनि अवरोधका कारण सामान ओसार्न सम्भव नभएपछि साबिकको कार्यालय रहेको घरमा ताला लगाएर राखिएको छ । २ बर्ष अघि नै ८८ लाख खर्च गरी आफ्नै भवन निर्माण गरिएको भएपनि त्यसयता समेत भाडाकै घरबाट वडाको सेवा संचालन गरिंदै आएको थियो । यसअघि पुष २६ गते कार्यपालिकाको बैठकले एक महिनाभित्र वडा कार्यालय सार्ने निर्णय गरेको थियो । जुन निर्णयमा वडाध्यक्ष यादवले समेत हस्ताक्षर गरेका थिए । सोमबारको बैठकमा समेत कटहरी ४ का ३ जना वडा सदस्य सहित कार्यपालिका अन्य सदस्यहरु समेत नयाँ भवनबाटै सेवा निरन्तरता दिने पक्षमा हस्ताक्षर गरेका छन ।